पोतमारा जलविद्युत आयोजना पुनः सञ्चालन हुने ।

कमल कुमाल

कालिकोट । जिल्लाको एकमात्र पोतमारा जलविद्युत आयोजना विगत लामो समयदेखि अलपत्र अवस्थामा छ । वर्खाको समयमा आउने पानीका कारण गएको पहिरोले पावरहाउसको नहर भत्काउँदा र विद्युत हाउसका केही मेसिनहरुमा खरावी आउँदा कालिकोटको विद्युत लाईन बन्द भएको थियो ।

बन्द भएपछि जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिकाका केही वडाहरुमा विद्युतको समस्या देखिएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । पोतमारा जलविद्युत कहिले बन्ने हो यस्को एकिन भने छैन ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जनता भेटघाटका लागि कालिकोट आउँदा अबको तीन महिनाभित्र पोतमारा जलविद्युत आयोजना सञ्चालनमा आउने बताएका छन् । मुख्यमन्त्री शाहीले पहिरो गएको ठाउँमा सिमेन्ट वाल लगाउन समय लाग्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकारबाट ३० लाख रुपैयाँ विनियोजन गरी पाइपबाट पानी ल्याएर विद्युत सञ्चालन गर्ने बताएका हुन् ।

नेपाल विद्युत प्राधिकरण कालिकोटका प्रमुख मेघराज जोशीका अनुसार पावर हाउसमा काम भइरहेको छ भने अझै केही महिना लाग्नेछ । अहिले यति दिन, यति महिना लाग्छ भन्न नसकिने उनले बताए । उनले भने, ‘हामीलाई विद्युत सेवा अवरुद्ध गराउन रहर हैन वर्षाको समयमा आएको बाढी पहिरोका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।’

तर, मुख्यमन्त्री शाहीले भने असारभित्र राष्ट्रिय प्रसारण लाईन कालिकोट पुर्याउनका लागि पहल भइरहेको बताएका छन् । उनले राष्ट्रिय प्रसारण लाईन विस्तारको काम भइरहेकाले कालिकोटबासीले अन्धकारमा बस्नु पर्ने दिन हट्दै गएको पनि बताए । कालिकोट जिल्लाका ९ वटा स्थानीय तहमा सञ्चालित विद्युत आयोजनाहरुको एकिकरण गरी मुख्य लाईन एउटा मात्र बनाउने पनी मुख्यमन्त्री शाहीको भनाइ छ ।

पोतमारा जलविद्यूत अवरुद्ध भए लगत्तै कालिकोटबासी केही दिन अन्धकारमा बसे । सरकारी तथा गैरसरकारी संस्थाहरुले जेनेरेटरबाट काम चलाए पनि सेवाग्राहीको काम भनेको समयमा हुन सकेन । व्यापारीहरु जेनेरेटरबाट दिइने सेवाको चर्को मूल्यमा पर्न थाले । सदमुकाम मान्मलगायत स्थानीय तहका नागरिकहरु अन्धकारमै बस्न बाध्य छन् ।

सौर्य उर्जा र डिजल, पेट्रोल प्रयोग गरी चलाईएका जेनेरेटरहरु पनि विग्रीन थालेपछि उद्योगी तथा व्यापारीहरु झन पीडामा छन् । दुई घण्टा दिउँसो, दुई घण्टा बेलुका जेनेरेटरबाट सेवा पाएका विद्युत प्राधिकरण कालिकोटका सेवाग्राहीले राम्रोसँग विद्युत उपभोग गर्न पाएका छैनन् ।सूर्य न्युज बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *