पचालझरना गाउँपालिकाको खार्दुमा रसिक स्टाेर निर्माण

पचालझरना गाउँपालिकाको खार्दुमा क्याफ्स–कर्णाली परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आलु भण्डारण भवन (रष्टिक स्टोर) बनेको छ । मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहयोग सहजिकरणमा भवनको काम थालिएको थियो ।

उक्त आयोजनाले उत्पादन भएको आलुलाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुगेको छ । विद्युतको उपलब्ध नहुँदा पनि सञ्चालन गर्न सकिने सो रष्टिक स्टोर स्थानीय प्रविधिको प्रयोग गरि कम लागतमा निमार्ण गरिएको क्याप्स कर्णाली परियोजनाका जिल्ला संयोजक नरेन्द्र बहादुर शाहीले बताए ।

उनका अनुसार खार्दुमा कुल ६ हेक्टर क्षेत्रफल जमीनमा वार्षिक ४० टन आलु उत्पादन भइरहेको छ । उचित भण्डारणको सुविधा नभएको र किसानहरुले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएको हुनाले गाँउपालिकाले यस आयोजनालार्ई प्राथमिकतामा राखेको हो ।

किसानहरुले आफ्नो उत्पादनलाई भण्डारण गरि बेमौसममा बिक्री गरेर आफ्नो वस्तु–मेहनतको उचित मूल्य पाउनमा सहयोग गर्नुका साथै उत्पादन वृद्घिमा थप टेवा पुर्याउने अपेक्षा गरेका छन् । रष्टिक स्टोर बनेपछि खार्दुका स्थानीयबासी हर्षित बनेका छन् । २ सय ५१ घरधुरी रहेको खार्दुमा कृषि खेति गर्ने अगुवा किसानहरुको संख्या धेरै छ ।

वर्षेनी आलु उत्पादन गरेर पुरानै सैलीमा खाडल खनेर राख्ने चलन हट्ने भएपछि खार्दुका कृषकमा आशा पलाएको छ । आलुृ उत्पादन धेरै हुने खार्दुमा बजारीकरणका लागि समस्या छ । स्थानीय हाटबजार जारकोटमा मात्र आलु बिक्री हुने गरेको थियो ।

‘बाँकी आलु खाडल खनेर राख्दा कुहिएर जाने तथा कृषकको उत्पादन खेर जाने समस्याले चिन्तीत रहेका थियौँ’ भन्दै पचालझरना गाउँपालिका–४ का अगुवा कृषक जय बहादुर कठायतले अब आफ्नो खेतबारीमा उत्पादन गरेका आलु भण्डारण केन्द्रमा राख्ने भएपछि खुशी भएको बताए ।

वर्ष २९ का जय बहादुर कठायत पहिला भारत जान्थे, भारतबाट फर्केपछि उनले आफ्नै गाउँमा कृषि खेति गर्न लागे । उनले आलु लगाएतका अन्य फलफूल तथा तरकारी खेती गरी आफ्नो परिवारलाई चाहिने आर्थिक खर्च जुटाउँछन् । बालबालिकालाई पढाउन,परिवारलाई खान, लत्ता कपडालगाएत आइपर्ने सम्पूर्ण आर्थिक संकट कृषि खेतिबाटै टार्छन् ।

कठायत मात्र हैनन्, वर्ष ३७ की जर्मा कठायत पनि ७ जनाको परिवारलाई कृषि खेतिबाटै पालनपोषण गर्छीन् । जर्माले ५ रोपनी खेतमा आलु खेति गरेकी छन् । खार्दुका २ सय ५१ घरधुरी नै यो ठाउँमा आलु खेति गर्छन् । ३५ लाख, ३८ हजार, ८ सय २१ रुपैया , ५१ पैसाको लागतमा आलु भण्डारण (रष्टिक स्टोर) बनेको सब–इन्जिनियर सुरेन्द्र शाहीले बताए ।

जस मध्ये क्याप्स कर्णाली परियोजनाको २८ लाख,२९ हजार,७ सय ७३ रुपैया र स्थानीय जनश्रमदान ७ लाख, ९ हजार,४८ रुपैयाँ ९४ पैसामा आलु भण्डारण भवन बनेको हो । उक्त भवनमा धारा, शौचालय समेतको व्यवस्था रहेको छ । भवनभित्र ९६ वटा काठका उचित सुविधासहितका कोठा छन् ।

प्रत्येक किसानले आफ्नो आलु भण्डारण गरेको कोठामा चाबी लगाउने छन् भने आलु भण्डारण गरेवापत कम शुल्क उपभोक्ता समितिलाई बुझाउने र त्यो पैसाले एकजनालाई रोजगार दिने बताइएको छ । भवन रेखदेख गर्ने एकजना कर्मचारी भवन उपभोक्ता समितिले नै राख्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *