पहिरोले भत्किँएको बाट निमार्ण हुदै शुभकालीमा

कालिकोटको शुभकालिका गाउँ पालिका वडा नं – ८ का १ सय ८५ जना युवाहरु सडक निर्माण कार्यमा तम्सिएका थिए । उनीहरूले गरिरहेको काम र जोस जाँगर देख्दा मेसिन मात्रै नभएर मान्छेहरु मार्फत पनि धमाधम पूर्वाधार निर्माण गर्न सकिने रहेछ भन्ने विश्वास गर्न सकिन्थ्यो ।

गएको जेठ,असार र साउनको ठूलो बर्षातले ठूलो पहिरो गएर स्थानीय समलागाँउ बासीलाई लागेको घाउ पुर्न युवाहरु कठिन मेहनतका साथ काममा सरिक भएका हुन् । काम गर्दागर्दै चिप्लिएर खसेको खण्डमा ज्यानको आसै गर्न नसकिने कठिन भूगोलमा हातहातमा निर्माण सामाग्री बोकेर युवाहरूले गरिरहेको काम हेर्न रहर लाग्ने स्थिति छ । सो वडाका वडाध्यक्ष दिपराज महतराका अनुसार पहिरोले दहचौरदेखि समलागाउँ साडे ६ किलोमिटर बृहत सिंचाइ कुलोो भग्नावशेषमा परिणत गर्नुका साथै ४ वटा खानेपानी र ५ वटा पैदलमार्ग लगाएतका संरचना क्षेतबिच्छेत गरेको कारण युवाहरु परिचालन गरेर योजना पुन: सुचारुमा ल्याउने प्रयत्न भैरहेको छ ।

क्षेति भएका संरचना भन्दा माथि निर्माणाधीन सडक ठाउँठाउँमा भत्केका कारण युवाहरु मार्फत सर्वप्रथम व्यवस्थित रुपमा सडक निर्माण गर्ने र त्यसपछि सिंचाइ कुला,खानेपानी,बाटाघाटा लगाएतका संरचना निर्माण गर्नुपर्ने अवस्था रहेको छ । फेरि पहिरो नजाने गरी ग्याभिन जाली भरेर सडक निर्माण कार्यमा युवाहरु परिचालन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कालिकोटका सदस्य जनक सेजुवालको नेतृत्वमा उपभोक्ता समिति सक्रिय रुपमा अघि बढेको छ । उपभोक्ता समितिमा बसेर पैसा कमाउने नभइ छिटोभन्दा छिटो र नमुना काम गरेर समलागाउँ बासीलाइ पहिरोले लगाएको घाउ पुर्ने उद्देश्य रहेको अध्यक्ष सेजुवालले विश्वास दिलाउनु भयो । स्थानीयहरुका घट्ट,खेतबारीका साथै विकास पूर्वाधार समेत गरेर करोडभन्दा बढी क्षेती पुगेपछि समलागाउँबासीले यसवर्ष सिंचाइ मार्फत खेति गर्न नपाएको र ४ वटा खानेपानीका लाइन पहिरोले फालेपछि १ लाइन पाइपको भरमा ३ सयभन्दा बढी घरले पिउने पानीकै हाहाकार भएको पहिरो पीडितहरु बताउछन् । पहिरोले सबैतिरका बाटाहरु भत्काएको कारण गाई भैंसीलाई बनमा चराउन नपाएर घर गोठमै सिमित राख्नुपर्ने बाध्य रहेको छ ।

शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले गाउँ पालिका बाट यस आर्थिक वर्षमा बिनियोजित ५० लाख बजेटमा युवाहरु मार्फत भइरहेको कामले सडक निर्माण सम्पन्न भइ पहिरोबाट समेत मुक्ति दिलाउन कठिन हुने भन्दै कर्णाली प्रदेश सरकारबाट बिनियोजित ७५ लाख बजेट समेत टेण्डरमा नचलाइ उपभोक्ता समिति मार्फत अघि बढेमा युवा परिचालन गरेर उदाहरणीय बनाउन सकिने दाबी गर्नुभयो ।

यतिबेला उपभोक्ता समितिको सक्रियतामा दिन रात नभनी युवाहरु काममा खटेको र त्यसबाट निस्किदै गरेको परिणामले आफुमा थप हौसला बढेको उहाँको भनाइ छ । उपभोक्ता समिति मार्फत काममा खटेका युवाहरूले दैनिक २ हजार सम्म ज्याला बस्ने गरी काम गरिरहेको बताएका छन् । यही रफ्तारमा काम अघि बढेमा यो वर्ष बजेट बिनियोजन नगरिएको भएतापनि कतैबाट पछि सोधभर्ना गर्ने गरेर भएपनि गाउँ पालिकाले तत्कालै सिंचाइ योजनाको काम अघि बढाउने र प्रत्येक घरमा धाराको व्यवस्था हुनेगरी वामपी हेल्भेटासको सहयोगमा हुरेन्डक नेपालले योजना सर्भे गरिसकेको गाउँ पालिका उपाध्यक्ष पम्फा शाहीले जानकारी गराउनुभयो । पहिरो पीडित तल्लो र माथिल्लो दुबै समलागाउँ बासीहरु पहिरोले लगाएको घाउ पुर्न सरकारले देखाएको तदारुकता प्रति खुशी हुँदै अब बन्ने संरचना विपद् को जोखिममा नपर्नेगरी बनाउनुपर्नेमा जोड दिइरहेको देख्न पाइन्छ ।/nepalpahara.com साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *