नरहरिनाथका बाढीपहिरो प्रभावितलाई आईएनएफ नेपालद्धारा राहत बितरण

जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पिडितहरुलाई ईन्टरनेशनल नेपाल र फेलोशिप (नेपाल) कालिकोटले राहत प्रदान गरेको छ । गत साउन १३ गते आएको अविरल बर्षाका कारण नरहरिनाथमा बाढीपहिरोले २० जनाको पुरिएर ज्यान गएको थियो भने ८ जना घाईते र अन्य घरबारबिहिन भएका घरपरिवारहरुका लागि राहतका सामग्री बितरण गरिएको जनाईएको छ ।

“विपत जोखिम न्यूनिकरण र पूर्व तयारी, सुरक्षित समुदाय निर्माण गर्ने हामी सबैको जिम्मेवारी” भन्ने मुल नाराका साथ आईएनएफ नेपाल सामुदायिक उत्थानशिल तथा बिकास परियोजनाको आयोजनामा र नरहरिनाथ गाउँपालिकाको समन्वयमा सो कार्यक्रमका परियोजना संयोजक दल बहादुर बुढाको अध्यक्षतामा कोभिड १९ का कारण भौतिक दुरी कायम गर्दै एक औपचारिक कार्यक्रम गरि बितरण गरिएको हो ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको प्रमुख आथित्यतामा भएको राहत बितरण कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाहरुका बाढीपहिरो प्रभावित ७४ घरधुरीका लागि ३० केजि चामल, २ केजी दाल, २ प्याकेट तेल, २ प्याकेट नुनसहितका दैनिक उपभोग्यका सामानहरुसँगै अति जोखिममा रहेका १३ घरपरिवारहरुका लागि २ बन्डल कर्कड पाता, प्यानल पाता र व्यक्तिगत सरसफाईका सामग्रीहरु प्रदान गरिएको आईएन एफ कालिकोट परियोजना संयोजक बुढाले जानकारी दिनुभयो ।

यो विषम् परिस्थितिमा संस्थाले पहिरो प्रभावित तथा अति जोखिममा रहेका नागरिकहरुलाई राहत प्रदान गरेकोमा स्थानीय सरकारको तर्फबाट खुसी व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष बिष्टले आगामी दिनहरुमा प्राकृतिक बिपत्ति र महामारीसँग लड्न यो संस्थासँग सहकार्य गर्दै बिकास र समृद्धिका लागि हातेमालो गर्ने र यो परियोजना समुदायप्रति उत्तरदायी भएकोमा धन्यबाद समेत प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *