हुरेन्डेकद्वारा नरहरिनाथ र शुभकालिकामा आधुनिक सरसफाई स्टेशन सहितको धारा जडान
कोभिड १९ लाई मध्यनजर गर्दै जिल्लाका दुईवटा स्थानीय तहमा आधुनिक सरसफाई स्टेशन निर्माण कार्य थालिएको छ । हुरेन्डेक नेपालको आयोजना तथा एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत हेल्भेटास स्विस इन्टरकोपरेशन नेपालको आर्थिक सहयोग नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकाका १३ वटा स्थानमा रहेका क्वारेन्टाईन, स्वास्थ्य संस्था र गाउँपालिका केन्द्रहरुमा हात नछोएर धुन मिल्ने आधुनिक धारा जडान भएका छन् । केही स्थानमा जडान भइसकेका र केही स्थानमा एक हप्ताभित्र सम्पन्न गर्ने तयारी भएको हुरेन्डेक कालिकोटका उपाध्यक्ष विरेन्द्र बुढाले जानकारी दिए ।
उनका अनुसार कोरोना भाईरसका कारण फैलिएको महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुग्ने र सावुन पानीले हात धुने क्रममा कठिनाई हुने भएकाले सहजताका लागि उक्त कार्य गरिएको बताए । नरहरिनाथ गाउँपालिकाको कार्यालय, कोटबाडा स्वास्थ्य चौकी, स्वास्थ्य चौकी रुप्सा, शान्ति मा वि राटिमाटा, स्वास्थ्य चौकी लालु र खुलालुमा रहेको क्वारेन्टिनमा गरी ७ स्थानमा ड्रम सहितको नछोइकन हात धुन मिल्ने धारा जडान भएका हुन् । त्यसैगरी शुभकालिकाको कार्यालय सकाटिया छेलो हाल्ना क्वारेन्टिन भर्ता, राराकाटिया क्वारेन्टिन, सुकाटिया र शुभकालिका वडा नं ८ मा रहेको स्वास्थ्य चौकी मुग्राहामा गरी ६ स्थानमा जडान भएको उपाध्यक्ष बुढाले बताए ।
जिल्लाभरी मानवअधिकार तथा सामाजिक रुपान्तरणका लागि काम गर्दै आएको हुरेन्डेकले खानेपानी तथा सरसफाईमा काम गर्दै आएको छ । यस अघि पनि क्वारेन्टिनमा रहेका महिलाहरुका लागि सेनेटरी प्याड र नरहरिनाथ र शुभकालिकालाई स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराएको थियो ।