यातायातको असुविधा हुँदा भारतबाट आएका मानिसलाई गाउँ पुग्न निक्कै कठिन

कालिकोट जिल्लाको शुभकालीका गाउँपालिकालाई अहिलेसम्म मोटरबाटोले छोएको छैन । जिल्ला सदरमुकामबाट गाउँपालिकासम्म पुग्न तीन⁄चार घण्टा पैदल हि‌ड्नुपर्छ । यातायात साधान नहुँदा भारत लगायतका स्थानबाट आई क्वारेन्टाइनमा बस्ने मानिस बिरामी पर्दा उपचारमा लैजान समस्या देखिएको छ । ‘क्वारेन्टाइनको मान्छे गोडा सुन्निएर रोएर बसेको छ, उपचारमा लैजान ऊ हिँड्न सक्दैन, गाडी आउँदैन, बोक्न कसैले मान्दैन’, क्वारेन्टाइनका बिरामी अस्पताल पुर्‍याउन नसकेको पीडा सुनाउँदै कालीकोटको शुभ कालीका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले  बताउनु भयो।

गोडा सुन्निएको बिरामीलाई २ दिनदेखि अस्पताल लैजान नसकेको अध्यक्ष चौलागाईंले बताउनुभयो । ‘हिँडेर आएकोले होला गोडा सुन्निएको छ, त्यस्ता विरामीलाई पनि लैजान सकिएको छैन, भोलि महामारी फैलियो र मानिस विरामी परे भने के गरी लैजाने होला’, अध्यक्ष चौलागाईँले सुनाउनुभयो ।

भारत गएका मान्छे गाउँ फर्कने क्रम जारी छ। शुभ कालीका गाउँपालिकामा मात्र ५ सयभन्दा बढी मानिस भित्रिसके । यातायातको असुविधा हुँदा भारतबाट आएका मानिसलाई गाउँ पुग्न निक्कै कठिन भएको छ ।

‘भारतबाट आएका गाउँलेले सामानका भारी पनि लिएर आउँछन्, गाडीले झारिदिएपछि उनीहरु आफै भारी बोक्न पनि सक्दैनन्, अरु मान्छेले बोक्न पनि मान्दैनन्, साह्रै असजिलो भएको छ’, उहाँकाे भनाई छ ।

कष्ट सहेर गाउँ पुगेकालाई पनि सजिलो कहाँ छ र ! बाहिरबाट आएका मानिस बस्ने क्वारेन्टाइन  समेत स्थानीयले गाउँका बीचमा बनाउन दिएका छैनन् । बल्ल तल्ल गाउँपालिकाले एउटा विद्यालयको भवनलाई क्वारेन्टाइन बनायो । २ सय मानिस बसेपछि विद्यालय भरियो ।

‘अहिले २ सय ५० भन्दाबढी भारतबाट आएका मानिसलाई चौरमा पाल टाँगेर राखेका छौँ, पानी पर्‍याे वा हावा हुरी आयो भने के हुने हो थाहा छैन, जनतालाई पालमुनि राखेर आफू घरमा के गरी निदाउनु ?’, चौलागाईंले भन्नुभयो ।

भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न पहाडी दुर्गम गाउँमा पुर्‍याउनु भन्दा यातायातको पहुँच भएको ठाउँमा क्वारेन्टाइन बनाएर राख्न पाए सहज हुने उहाँको भनाई छ । ‘यहाँ आएर पालमुनि बस्न भन्दा त नेपालगञ्ज र सुर्खेतको फाँटमा राख्न पाएको भए उनीहरुलाई बिरामी पर्दा उपचारको लागि लैजान त सजिलो पर्थ्यो’, चौलागाईंले भन्नुभयो ।

सो पालिकामा हालसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या एकदुई दिनमा निक्कै बढ्ने उहाँको अनुमान छ । यस्तो अवस्थामा पालिकामा मात्र नभएर कालिकोटमै बिरामी राख्ने आइसोलेसनको समेत अभाव भएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा आवश्यक सामानदेखि कोरोना परीक्षण किटको समेत जिल्लामै अभाव भएको उहाँले गुनासो गर्नुभयो । sunrisekhabar.comसाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *