घोषणा पत्रमा बोलेका र जाहेर गरेका प्रतिवद्धता एकपछि अर्को पुरा गर्दै , उपाध्यक्ष बुढा

समाजमा रहेका विकृती, विसंगति र अन्यायका विरुद्ध आवाज उठाउदै आएकी मनशोभा वुढा९आशा० सानै उमेरमा क्रान्तिमा होमिएकी एक उर्जाशील क्रान्तिकारी महिला हुन् । कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका वडा नं ३ कुमालगाँउ भरातामा वावु अमरे वुढा र आमा गोरी वुढाबाट २०४२ साल माघ ५ गते जन्मेकी आशा ६जना सन्तान मध्यकी माईली छोरी हुन् ।

उनले प्रविणता प्रमाणपत्र तह सम्म अध्ययन गरेकी छन । कर्णालीको थवाङ भनेर चिनिने तत्कालीन ५ नम्बर क्षेत्र र अहिलेको नरहरिनाथ गाउपालिकामा माओवादी जनयुद्धको प्रभाव सँगै २०५४ सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ईकाई कमिटी बाट आशाले राजनीति जीवन सुरु गरेकी हुन् । २०५७ साल जेठ २ गतेवाट सर्वहारा श्रमजीवी जनताको मुक्तिको लागि जिवनलाई वलिदानि दिन लालझण्डा उठाउने कसम खादै महान जनयुद्धको वाटो रोजिन् ।

२०५७ जेठमा भुमिगत भएकी उनी कार्तिकमा अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी कालिकोटको सदस्य २०५८ फागुनमा कोषाध्यक्ष, २०५९ कार्तिकमा उपाध्यक्ष, सेतिमहाकालि क्षेत्रीय समन्वय समितिसदस्य, सेतिमहाकालि छात्रा विभाग प्रमुख तथा केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरी सकेकी छन् ।

यसरी विद्यार्थी र पार्टी राजनीतिलाइ संगसंगै लगेकी आशाले २०६० सालमा नेकपा माओवादी जिल्ला कमिटी कालिकोटको सदस्य २०६१ सालमा अनेमसंघ क्रान्तिकारी कालिकोटको अध्यक्ष र २०६६ सालमा केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरीन ।

लामो समय वर्ग संघर्ष गरेकी आशाले पार्टी र राज्यवाट जनताको सेवा गर्ने केही अवसरहरु पनि प्राप्त गरिन २०६८ सालमा नेपाल सरकारको मन्त्री स्तरीय निर्णयवाट दुर्गम विकास क्षेत्रको सदस्य र २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फवाट नरहरिनाथ गाउँपालिका उपाध्यक्षमा विजयी भई अहिले जनताको काममा खटिरहेकी छन । उहाँसंग गरीएको कुराकानी ।

चुनावी घोषणापत्र र जनातसँग त्यतिबेला गरेका प्रतिवद्धतामा जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो छ, तपाइँले के गर्नु भएको छ ?

स्थानिय तहको निर्वाचन सम्पन्न भएको लगभग तीन वर्ष पुग्दै छ, तीन वर्षको कार्यकालमा हामीले निर्वाचन हुनु भन्दा पुर्व चुनावी घोषणा पत्रमा बोलेका र जाहेर गरेका प्रतिवद्धता एक पछि अर्को पूरा गर्दै गइरहेका छौं ।

पहाडी भूगोल १४३।८६ वर्गकिलो मिटर क्षेत्रफल र करिब २२ हजार जनसंख्या रहेको हाम्रो गाउँपालिका सडक र विद्युतको पहुँच नपुगेको गाउँपालिका हो, अहिले हामीले लालीघाट देखि कोटवाडा सुनथराली, कोटवाडा हुँदै गाउँपालिकाको कार्यालय सम्म, खुलालु देखि लालु र रहगाड सम्म सडक निर्माण कार्य सम्पन्न गरेका छौं । उच्छव खोलामा ३० किलोवाटको विद्युत निर्माण गरी सात नं वडाको पुरै घरधुरी, गाउँपालिकाको कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्रसम्म प्रसार गरेका छौं ।

गाउँपालिका र वैकल्पिक उर्जाको अनुदानमा यस गाउँपालिकाको प्रत्येक घरधुरीमा ५०, ५५ वाटको सोलार सिस्टम वितरण गरेका छौं । जनताको घरघरमा खानेपानीको धारा निर्माण सम्पन्न हुने प्रक्रियामा छन् । अत्यावश्यक ठाउँमा सिंचाइ कूलो, झुलुङ्गे पुल निर्माण भएका छन् । शिक्षा क्षेत्रमा धेरै सुधार भएको छ ।

महिला, दलित र अन्य लक्षित वर्गलाई सिलाई कटाइ, होजियारी लगायत विभिन्न किसिमका सीपमुलक कार्यक्रम संचालन गरिएका छन् । हामी निरन्तर रुपमा जनताका आवश्यकता र हाम्रा प्रतिवद्धता पूरा गर्न लागिपरेका छौं ।

चुनावी घोषणापत्र र जनातसँग त्यतिबेला गरेका प्रतिवद्धता पुरा गरिरहेको कुरा गर्दै गर्दा जनअपेक्षा अनुसार काम भएन भन्ने गुनासो छ, तपाइँहरु आइसकेपछि कर पनि बढ्यो के भन्नुहुन्छ र?

देश संघियतामा गइसकेपछि गाउँपालिकामा धेरै विकास भएको छ, लामो समय सम्म अस्तव्यस्त रहेको अवस्था पछि स्थानीय सरकारको गठन हुनाले गाउँ गाउँमा जनताका अधारभूत अवश्यकता प्रत्यक्ष सम्बोधन हुँदै गएका छन् ।

यद्यपि हाम्रो जस्तो अल्पविकसित समुदायमा अथाह माग र अपेक्षा हुँदा हामीसँग भएको सिमित बजेट, श्रोत र साधनले एकैचोटी सबै विकास र अपेक्षा पुरा हुन सक्दैन । ती जनअपेक्षा क्रमशः पुरा हुँदै गएका छन् । हाम्रो गाउँपालिकामा करको सवालमा संभावित क्षेत्र र यहाँको श्रोतमा गाउँसभाबाट पारितगरि कर लागु गरेका छौं ।

केन्द्र र प्रदेश सरकारबाट आएको अनुदान सँगै आन्तरिक आय बढाउनको लागि सेवा र उपभोगमा कर लगाउन जरुरी छ, हामीले करको दर चर्को लगाएका छैनौं, हाम्रो गाउँलिकामा करको विषयमा जनगुनासो आएको पनि छैन, केही तलमाथि भयो भने लचकदार भएर गाउँसभाबाट संशोधन गर्न पनि सकिन्छ ।

गाउँपालिकाको समग्र विकासका लागि खास के के अगामी योजना बनाउनु भएको छ र मुख्यत तपाइँहरुको के मा विशेष जोड छ ?

यस गाउँपालिकाको विकासका लागि अघिल्लो गाउँसभाबाट पारित योजना सडक, विद्युत, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, कृषि लगायत क्रमागतमा रहेका योजना पूर्ण सम्पन्न गर्न योजना बनाइएको छ, मुख्यत गाउँपालिकाको लालीघाट देखि कोटवाडा सुनथराली, कोटवाडा, गाउँपालिकाको केन्द्र कुमालगाउँ हुँदै रुप्सा सम्म सडक निर्माण, खुलालु देखि लालु, माल्कोट, उच्छव हुँदै रामारोसन सडक निर्माण, माल्कोट हुँदै खातिरुप्सा, खुरखोलासम्म सडक निर्माणलाई विशेष जोड दिएका छौं ।

यी सडक खण्डको निर्माणले गाउँपालिका भित्र रिङ्रोड तयार हुन्छ । त्यस्तै ३५० किलोवाटको धाँचुखोला जल विद्युत लगायत जात्ताडा लघु जल विद्युत निर्माणाधिन अवस्थामा छन् । त्यस पछि गुणस्तरीय शिक्षा, स्वास्थ्य, सञ्चार र अन्य क्षेत्रमा पनि ध्यान दिएका छौं ।

जनप्रतिनिधि र कर्मचारीबिचको तालमेल कस्तो छ गाउँपालिकामा ?

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो नै छ, हरेक काममा हामी जनप्रतिनिधि र कर्मचारी बिचमा समन्वय भई राखेको छ, पहिले त गाउँपालिकामा एकजना नायब सुब्बा र एकजना लेखापाल मात्र थिए, कामकाज गर्न कठिन थियो । करार कर्मचारीबाट सबै काम गर्नु पर्ने अवस्था थियो ।

अहिले ९ वटा वडा मध्ये ६ वटा वडाहरुमा सचिवहरु स्थायी छन् । गाउँपालिका र विषयगत शाखा कार्यालयहरुमा र प्राविधक फाँटमा पनि दरबन्दी अनुसार माग गरेका कर्मचारीहरु आईपुगेका छन् । भएका कर्मचारीहरुबाट सन्तोषजनक काम सम्पन्न भइरहेका छन् ।

तपाईंको गाउँपालिकामा काम गर्दा मुख्य समस्याहरु के देख्नु हुन्छ र संभावना के के छन् ?

हाम्रो गाउँपिलकाको मुख्य समस्या भनेको भौगोलिक विकटता नै हो । प्रसस्त हरियाली वन जंगल, पानीका मुहान, खोला नाला रहेको यस ठाउँमा कृषि, पशुपालनका क्षेत्रमा राम्रो संभावना रहेको छ ।

सबै वडा र गाउँहरुमा सडक मार्गको पहुँच पुर्याउन सकेमा यहाँको कृषि उत्पादन मकै, गहुँ, जौ, भटमास, तरकारी लगायत थुप्रै चीजको बिक्री वितरणबाट आम्दानी बढाउन सकिन्छ । पशुपालन मासु, दूध, घ्यू उत्पादनबाट जनता अत्मनिर्भर बन्न सक्छन् । त्यस्तै वन पैदावार र जडिबुटी उत्पादनबाट पनि प्रशस्त लाभ लिन सकिने देखिन्छ ।

अन्त्यमा तपाईंको गाउँपालिकामा कोरनाबारे सचेतिकरण कार्यक्रम के के गर्नु भयो अरु के गर्दै हुनुहुन्छ र?

हामीले नरहरिनाथ गाउँपलिकामा ९ सदस्यीय कोभिड–१९ रोकथाम नियन्त्रण समिति गठन गरेका छौं, अवश्यकता अनुसार बैठक बस्ने, वडाहरुमा निर्देशन गर्ने काम गरेका छौं । पहिलो चरणमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको संयुक्त टोली बनाई प्रत्येक वडामा विकेन्द्रित रुपमा सचेतना कार्यक्रम संचालन गरेका छौं मास्क, साबुन प्रत्येक घरधुरीमा वितरण गरिएको छ । जिल्लाको मुख्य नाकाहरुमा, छिमेकी जिल्ला र स्थानीय तहहरुबाट आवत जावत गरिने बाटोहरुमा स्वयंसेवक परिचालनगरि नाकाबन्द गरिएका छन् ।

गाउँपालिका भित्र ५ स्थान रमा मा।वि कालाशिल्ला, जनता मा.वि. रुप्सा, शान्ति मा.वि.माल्कोट, नन्दादेवी मा.वि.कोटवाडा, जनप्रभात मा।वि।लालुमा क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा आइसोलेसनको व्यवस्था गरिएको छ ।

यस भन्दा अगाडि भारत लगायत अन्य देशबाट आएका ३० जनालाई क्वारेन्टाइनमा राखी १४ दिन पुरागरि केही संकेत नदेखिंदा घर पठाइएको छ । गाउँगाउँमा स्वयंसेवकहरु परिचालनगरि सचेतिकरणका लागि प्रचार प्रसार गरिरहेका छौं । गाउँपालिकाले स्वास्थ्य संस्थामा चाहिने औषधि लगायत अन्य सामाग्रीको व्यवस्था गरेको छ ।

लकडाउनको अवधिमा बिपन्न परिवारलाई पर्ने जोखिमलाई मध्यनजर गरी गाउँपालिका भित्र ४८० परिवारलाई राहत बापत खाद्यान्न बितरण गरिएको छ । बैशाख ५ गते भारत लगयत अन्य देश र जिल्ला बाहिरबाट आएका र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई जिल्ला अस्पताल कालिकोटको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा परिक्षण शिविर सञ्चालन गरिएको छ ।

यद्यपि लकडाउनको कारणले गर्दा उपकरणहरु उपलब्ध गराउन केही समस्या भएको छ । तापनि कोरनाको महामारी रोक्न र हाम्रो गाउँमा भित्रिन नदिन हामी जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु दिन रात खटिरहेका छौं ।

संघीय सरकार, प्रदेश सरकारले दिएका नीति निर्देशनलाई कडाई पुर्वक कार्यान्वयन गरिरहेका छोै ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!