नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटको अपिल ।।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटले कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्न जिल्लावासी सबैलाई अपिल गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एक भएको वेला जिल्लामा पनि एकजुट भएर लड्न नेकपा कालिकोटले अपिल गरेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण ९ जना देखिएपछि थप जोखिम हुनेहुँदा सवैले सचेत हुन आग्रह गरिएको छ । कोरोना मुक्त नरहेको भन्दै नेकपाले सरकारी निर्णय कार्यान्वयनमा सहयोग गर्न अपिल गरेको हो । नेकपा कालिकोटका अध्यक्ष धनजित शाही (आदर्श) ले तिनै तहका सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था, स्थानीय प्रशासन, प्रहरी र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट जिल्लालाई बचाउन आग्रह गरे । कोरोना विरुद्ध लड्न सरकारलाई पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजीकरण गरिरहेको उनको भनाइ छ । नेकपा कालिकोटका सचिव नगिन्द्र शाही (नेशनल) ले जनचेतना विस्तारका लागि युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई सचेतना फैलाउन आग्रह गरेका छन् । सरकारले तोकेको लकडाउनको समय सिमामा अनुशासन देखाएर वस्न नेकपा कालिकोटले अपिल गरेको छ । कोरोना महामारीको त्रासले राष्ट्रको आर्थिक अवस्था नाजुक भएसंगै जिल्लामा पनि विभिन्न समस्या उत्पन्न भएको अपिलमा उल्लेख छ । चैत १० गते देखि हालका मितिसम्म जिल्लावासीले देखाएको धैर्यताले सवैलाई सुरक्षित महशुस गराएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *