अग्निपीडित ३२ मध्ये २४ परिवारको नयाँ घर तयार ।

कालीकोटको पलाता–१, धौलागोहस्थित खाडा गाउँमा निर्माण भएका घरहरू । पलाँता गाउँपालिका–१ खाडाका ६५ वर्षीय लालमणि उपाध्याय यतिबेला खुसी छन् । प्रदेश सरकारले नयाँ घर बनाइदिएपछि उनी दंग परेका हुन् । ‘तीन महिना त रुँदै दिन काट्यौं,’ उनले भने, ‘अब त नयाँ घर बन्यो, सबै खुसी भएका छौं ।’ आगलागी पीडितका लागि शौचालय र भान्साकोठासहितका जस्तापाताको छानो भएका तीनकोठे पक्की घर बनाइएको हो ।

आगलागीमा घरभित्र भएका अन्नपात, लत्ताकपडा, चारवटा गाई र दुई हलगोरु गुमाएका उपाध्यायको सात जनाको परिवार छिमेकीको गोठमा बस्दै आएको छ । माघ लागेपछि नयाँ घरमा सर्ने तयारी छ । घर बनाउन कर्णाली प्रदेश सरकारले पाँच लाख रुपैयाँ अनुदान दिने भनेको थियो । उनले चार लाख पाइसकेका छन् । बाँकी रकम घर निर्माणको प्राविधिक मूल्यांकन भएसँगै पाउने छन् ।

आगलागीपीडित परिवारका लागि कलाकार कृष्ण कँडेलले रंगीन जस्तापाता र ४५ बोरा सिमेन्ट जुटाइदिएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले सबै घरमा बाहिरी प्लास्टर गरिएको बताए । उनका अनुसार आठ लाख रुपैयाँको लगानीमा बनाइएका घरमा स्थानीयले तीन लाख रुपैयाँ बराबरको श्रमदान गरेका हुन् । मिस्त्री ज्याला र बाह्य सामग्रीको रकम खर्च सरकारले व्यहोरेको छ ।

नयाँ घरमा सर्न पाउने दिन पर्खिरहेको ५९ वर्षीया दुर्पता न्यौपानेले बताइन् । उनको आठ जनाको परिवार अहिले छिमेकीले छाडेको पुरानो घरमा बसिरहेको छ । शौचालयमा प्यान राख्न र घरका भित्री कोठा लिपपोत गर्न बाँकी रहेकाले माघ पहिलो साता नयाँ घरमा सर्ने उनले सुनाइन् । खाडामा यतिबेला जहाँ चिटिक्कका जस्तापाताले छाएका घर फिनिसिङ हुँदैछन्, त्यहाँ खरका छानो भएका झुप्रा घर थिए । बस्तीमा आगलागी हुँदा निभाउन वरपर पानी थिएन । राति भएको आगलागी नियन्त्रणमा लिन ९ घण्टा लाग्यो । सबै जलेर सकिएपछि मात्र आगलागी नियन्त्रणमा आएको उनले सुनाइन् ।

‘जोडिएर बनेका घरका छाना सबै जलेर सकिएपछि आगो नियन्त्रण भएको हो,’ स्थानीय रत्न न्यौपानेले भने, ‘प्रहरी र गाउँपालिकाको निर्माण कार्यदलको सक्रियताले माथिल्लो टोलमा सल्किन पाएन ।’ गाउँपालिकाले उपलब्ध गराएको डिजाइनका आधारमा नयाँ ठाउँमा नयाँ घर बनाइएको उनले बताए । घटनाको वर्ष दिनपछि ३२ मध्ये २४ परिवारले नयाँ घर बनाइसकेका छन् । आठ परिवार जिल्ला बाहिरै बस्ने भएकाले सम्पर्कमा नआएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । सम्पर्कमा नआएका आठ घरको ५ लाखका दरले खर्च हुन नसकेको ४० लाख रुपैयाँ विपन्न परिवारलाई जस्तापाता सहयोग गर्न प्रयोग गर्ने योजना गाउँपालिकाको छ । पोहोर पुस ९ खाडावासीका लागि कालो दिन थियो । आगलागी भएर ३२ घर सखाप भएका थिए । मुन्टो लुकाउने आफ्नो आश्रय डढेपछि पीडित परिवारको बिजोग थियो ।ekantipur.com साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *