पौडेल–सिटौला देउवा निवासमा

मातृभूमी संवादाता । १२ फागुन काठमाडौं

किचलोले केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुन थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन्। देउवा निवास बूढानीलकण्ठमा शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठक बस्यो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत सहभागी भए। शुक्रबार भने उनीहरू अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन।

नयाँ विधानसहित महासमितिबाट आएका अन्य चार प्रतिवेदन अनुमोदन र नेपाल विद्यार्थी संघको विवाद सल्टाउन छलफल भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक शीर्ष नेताहरूबीच कुरा नमिलेपछि आइतबारका लागि सारिएको छ। आइतबार बैठक गर्ने भएपछि शुक्रबारदेखि सभापति देउवाले अनौपचारिक बैठक बोलाउने तयारी गरेका थिए।

कांग्रेसमा नयाँ विधानदेखि राजनीतिक प्रस्ताव र संघको विवादलाई लिएर शीर्ष नेताहरूबीच मतमतान्तर चलिरहेको छ। महासमिति बैठकले नयाँ विधान अनुमोदनका लागि पठाएको दुई महिना बित्यो। तर, केन्द्रले टुंगो लगाउन सकेको छैन। महाधिवेशन प्रतिनिधिका लागि नेताहरू तलबाटै निर्वाचित हुनुपर्ने कि सिधै आउने भन्नेमा विवाद छ। महामन्त्री पूर्णबहादुर खड्काले विधान सहमतिमै अनुमोदन हुने दाबी गरे। ‘सबैसँग कुराकानी चलिरहेको छ’, विधान समितिका संयोजकसमेत रहेका उनले भने, ‘चाँडै हामी पार्टीको सबै कुरा टुंग्याउँदै छु।’

सभापतिइतर नेता भने आइतबारको बैठकबाट सबै निर्णय भइहाल्नेमा विश्वस्त देखिका छैनन्। अनौपचारिक बैठक जसरी हुनुपर्ने हो त्यो नभइरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ। ‘पार्टीको आन्तरिक कुरा एकपछि अर्को विवादित हुँदै गएको छ’, उनले भने, ‘यसका लागि शीर्ष तहमा गम्भीरतापूर्वक छलफलको खाँचो छ।’ सभापति देउवा र कोइराला परिवारका नेताबीच वाक्युद्धसमेत चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!