कुपोषण रोक्न तिलागुफामा पोषण अभियान
तिलागुफा–६ जुविथाकी सुनौला हजार दिनका आमाका लागि नगरपालिकाले खरिद गरेको डेढ क्यारेट अण्डा, १ प्याकेट खाने तेल, ५ किलो चना, ५ वटा कुखुराका चल्ला र एउटा पानी शुद्धीकरण गर्ने फिल्टर वितरण गरेको छ । सुनौला हजार दिनका आमा र बालबालिकामा हुने कुपोषण रोक्न नगरपालिकाले पोषण अभियान सञ्चालन गरेको छ ।
संघीय सरकारको ८४ लाख रुपैयाँ बजेटबाट नगरभरिका १ हजार १५ जना सुनौला हजार दिन भित्रका आमालाई वितरण गर्न थालेको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । नगरपालिकाको स्वास्थ्य शाखामार्फत ११ वटै वटामा अचेल पोषिलो खाद्य सामग्री वितरण सुरु गरिएको हो । उनले नगरभित्र रहेको कुपोषण हटाउन ‘हरेक बार, खाना चार’ अभियान पनि सञ्चालन भइरहेको बताए ।
कम तौल, रक्त अल्पता र पुड्कोपन बढी भएका बालबालिका अत्याधिक रहेकोले सुनौला हजार दिनका आमासहितका शिशुलाई बचाउन हरेक अभियान सञ्चालन गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र शाहीले बताए ।गरिबीका कारण जिल्लामा कुपोषित बालबालिकाको संख्या बढी रहेको निमित्त स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले बताए ।