कविता – १२ महिना ६ ऋतु

हिरा भट्ट

डुल्दा बर्ष नयाँ सयौं कुसुममा बैशाख आयो पसी
गर्मी भो जब जेठ हाँस्छ रुखका छायाहरूमा बसी
रोपेँ धान असारमा दबदबे छ्याप्दै हिलो बेसरी
बर्स्यो साउन मास बढ्छ खहरे खोली तरूँ के गरी
।१।
आयो मास भदौ घरै बसिबसी च्याख्ला मकै खाउँला
झुल्क्यो चाड दसैं असोज महिना नाना नयाँ लाउँला
आयो कार्तिकमा तिहार हँसिलो टीका दियो भेटमा
पाक्दा धान खुसी छ मंसिर अहा हाँस्दै बस्यो खेतमा
।२।
जाडो भो पुसमा लुकी सिरकमा अन्ताक्षरी गाउँला
लाग्दा माघ खनेँ गिठा तरुल जो सङ्क्रान्तिमा खाउँला
होली खेल्न हतार फागुन अहा घन्काउँला मादल
आयो चैत म चाख्छु है त रुखमा चढ्दै मिठा काफल
।३।
नेपाली ऋतु हो वसन्त पहिलो जो चैत्र बैशाखमा
ल्यायो जेठ असार गृष्मऋतुले गर्मी बस्यो काखमा
बर्षाको ऋतु डुल्छ साउन भदौ बिर्सेँ भुसुक्कै जब
आयो फेरि असोज कार्तिक शरद् हाँसेँ मुसुक्कै तब
।४।
आए मंसिर पौष जो बुइ चढी काँपेर हेमन्तमा
जोड्ने फागुन माघ जो शिशिर हो टुङ्गिन्छ बर्षान्तमा
हे प्यारा गुरु धर्म हो कलमको गल्ती नियाली दिनू
उत्तीर्णाङ्क मिल्यो कि फेल म भएँ जाँचेर हेरी दिनू
।५।
छन्द:शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!